पोखरा, २८ माघ ।
कास्की क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेद्वार मनोज गुरुङलाई जिताउने उद्घोष गर्दै पुराना बामपन्थी नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
तत्कालीन घाचोक गाउँ विकास समितिका पूर्व प्रधानपञ्च आश बहादुर गुरुङ र अग्रज बामपन्थी नेता पूर्ण बहादुर गुरुङ कांग्रेसमा सामेल भएका हुन् । उनीहरुले यो क्षेत्रको विकास र समृद्धिका लागि मनोज गुरुङको जित अपरिहार्य रहेको भन्दै सक्रियताका साथ लाग्ने बताए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै आश बहादुरले क्षेत्र नम्बर ३ का जनताको भावनालाई सम्बोधन गर्न कांग्रेसले मात्र सक्ने दाबी गरे । लामो समय बामपन्थी राजनीतिमा बिताएका आश बहादुरको प्रवेशले घाचोक र आसपासको क्षेत्रमा कांग्रेसको पकड बलियो हुने विश्वास गरिएको छ ।
यसैगरी घाचोकका अर्का प्रभावशाली बामपन्थी नेता पूर्ण बहादुरले पनि कांग्रेसको नेतृत्वमा मात्र मुलुकको भविष्य सुरक्षित रहेको उल्लेख गरे ।
कांग्रेसमा प्रवेश गरेका यी नेताहरुलाई स्वागत गर्दै स्थानीय नेताहरुले पार्टीको संगठन विस्तारमा यसले ठूलो सहयोग पुग्ने बताए । कास्की क्षेत्र नम्बर ३ मा निर्वाचनको माहोल तात्दै गर्दा पुराना र अनुभवी बामपन्थी नेताहरुको कांग्रेस आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीहरुले आफ्ना समर्थकहरुलाई पनि कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
६ बैशाख २०८३, आईतवार










