पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच विहीबार भेटवार्ता भएको छ। यस भेटमा दुई प्रदेशबीचको सहकार्य र सहयोगको नयाँ आयाम खोलिएको छ। गण्डकी प्रदेश प्रमुख निवास, पोखरामा आयोजित यो भेटमा प्रदेशहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, सहयोग र समन्वय बढाउने तथा आपसी हितमा काम गर्ने विषयमा चर्चा भयो।
प्रदेश प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गर्दै, हालै प्रमुख पदमा नियुक्त भएकामा उहाँलाई बधाई र शुभकामना प्रेषित गरे। यस अवसरमा शर्माले भने, दुई प्रदेशबीचको सहयोग र समन्वयले मुलुकको समृद्धिमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे।
दुवै प्रमुखद्वयले आ-आफ्ना प्रदेशमा भइरहेका विकास र समृद्धिका कार्यक्रमहरूको जानकारी आदानप्रदान गरे र आपसी हितमा थप काम गर्ने सम्भावनाहरू खोज्ने बारेमा चर्चा गरे। यस्तै, प्रदेशहरूबीचको सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवद्र्धन र औद्योगिक सहकार्यलाई बढावा दिने विषयमा समेत गम्भीर चर्चा भयो।
प्रमुखद्वयले सिमान्तकृत समुदायहरूको उत्थान र विकासमा प्रदेशहरूबीचको सहयोगको महत्वमा समेत जोड दिए। गण्डकी प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रञ्जन अधिकारीले बताए अनुसार, यस भेटवार्तामा सामाजिक न्याय, समानता र समृद्धिका लागि साझा प्रयत्नहरू गर्नुपर्ने विषयमा समेत चर्चा भयो।
बागमती प्रदेश प्रमुख शर्माले गण्डकी प्रदेश प्रमुख भट्टलाई बागमती प्रदेशको भ्रमणका लागि निमन्त्रणा पनि दिए। यस भ्रमणले दुई प्रदेशबीचको सम्बन्धलाई थप मजबुत बनाउने र विविध क्षेत्रमा सहयोग र समन्वय गर्ने बाटो खोल्ने विश्वास लिइएको छ।
यस भेटवार्ताले नेपालका विभिन्न प्रदेशहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने र राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण कदमको रूपमा लिइएको छ। दुई प्रदेश प्रमुखबीचको यो भेटले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुर्याउने बिश्वास गरिएको छ।












