पोखरा, २९ भदौ ।
माछापुच्छ्रे नमुना पैदल मार्ग सुरु भएपछि पहिलो विश्रामस्थल हो, मेरबाङ । यहाँ माछापुच्छ्रे गाउँपालिका–९ को प्रुन्धुबाट यात्रा सुरु गरेको एक डेढ घण्टामा पुगिन्छ । यहाँ पुगेर मोही भएको बेला मोही नभए पानी खाने थकाइ मार्ने स्थान हो । पैदलयात्रीहरुका लागि विश्रामस्थल गोठालोहरुका लागि आश्रयस्थल पनि हो ।
स्थानीयले ठूलाखर्कका नामले पनि चिन्ने मेरबाङ सबैभन्दा तल्लो भैसीगोठ हो । यहाँ ६÷७ गोठ नजिकनजिकै छन् तर, त्योभन्दा माथि छ, नमर्जे खर्क । नमर्जे गोठ अलि पर छ । रातमा केही आइपरे गुहार माग्दा पनि मेरबाङकाले नसुन्ने ठाउँमा । त्यो गोठका गोठाला हुन्, कुलबहादुर क्षत्री ।
उनकोमा अहिले १० वटा भैँसी छन् । जसमा एउटा दुहुनो र ४ वटा ब्याउनेवाला । एउटा भैँसीको दूधले ५÷६ दिनमा १२ सय जति कमाइ हुने उनले बताए । ‘अहिले एउटा दुहुनो भैँसी छ । त्यसले १ पटकमा ३ माना जति दूध दिन्छ,’ उनले भने, ‘बिहानबेलुकी ६ माना जति हुन्छ । त्योबाट ५÷६ दिनमा १ माना घिउ निस्किन्छ । हामीले मानाको १२ सयले बेच्छौं ।’ भैसी खर्कको कमाईले खर्च खर्च टार्न सहज भएको क्षत्रीले बताए ।
बर्खामास खर्कमा राम्रो घाँस हुने भएकाले आफूलाई भैँसी चराउन रहर जागेर आउने कुलबहादुरले बताए । तर, बढ्दो आधुनिकतासँगै खर्क बस्ने परम्परा लोप हुनेमा उनको चिन्ता छ । उनकै आफ्ना छोराछोरीहरु पनि अरु पेसामा व्यस्त भइसकेको सुनाए । उमेर ६२ वर्ष लागेका उनी आफू खर्क उक्लिन नसक्ने भएपछि पनि जोगाइराख्नुपर्ने सुझाव दिन्छन् । उनका अनुसार नमर्जेभन्दा केही तल तलको मेरबाङ खर्कमा पनि भैंसीगोठ घट्दै गएका छन् । उनी भने खर्कहरु घट्न नदिने तर्क राख्छन् ।
माघेसंक्रान्ति पर्व मानेपछि कास्कीका डाँडातिर बस्ने गोठाला खर्कतिर उक्लिन्छन् । भैँसीका बथान लिएर खर्क उक्लिने उनीहरु करिब ९ महिना उतै बस्छन् । लथालिङ्ग केही भताभुङ्ग गोठ जाडो महिनाभर स्याहारसम्भार गरी बस्नयोग्य बनाएर गुजारा धान्छन् । त्यसबीचमा उनीहरुको दैनिकी खर्क र डाँडातिर वस्तुभाउ चराउनु, स्याहार गर्नु, दूध दुहुनु, तताउनु, मोही पार्नु र घिउ निकाल्नुमै बित्छ ।

प्रुन्धु गाउँबाट करिब १ घण्टा दुरीमा रहेको नमर्जे खर्कमा भैँसी गोठ भएका कुलबहादुरले यो वर्ष साथी नै पाएनन् । ‘यस्तो अनकन्टार जंगलमा डर लागिहाल्छ नि, डर लागेर के गर्नु सम्पत्ति भनेकै भैँसी हो । पाल्नै परो,’ उनले भने, ‘एक्लै त आत्तिन्छु । पोहोर त तल्लो गोठमा साथी आएको थियो, अहिले ऊ पनि आएन ।’ तर, खर्कमा भैँसीको स्याहार गर्न निकै रमाइलो लाग्ने उनको कथन छ ।
आफूहरुले नसकेको अवस्थामा यो पेसा लोप नै भएर जाने हो कि भन्ने उनमा चिन्ता छ । बुढापाकाको भरमा चलेको भेडीगोठ र खर्क जोगाउन युवा जागरुक हुनुपर्ने उनले बताए । यसका लागि सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
४ बैशाख २०८३, शुक्रबार












