फोनिज गण्डकीको नेतृत्वमा खिमा गुरुङ – नयाँ नीति
फोनिज गण्डकीको नेतृत्वमा खिमा गुरुङ
  • २९ फाल्गुन २०८१, बिहीबार
  • पोखरा – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको नयाँ नेतृत्व चयन गरिएको छ। बुधबार पोखरामा सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनले खिमाकुमारी गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। आदिवासी जनजातिका आवाज बुलन्द पार्ने उद्देश्यसहित गठित १५ सदस्यीय कार्यसमितिमा अनुभवी तथा नयाँ पुस्ताको समायोजन गरिएको छ।

    महाधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आदिवासी समुदायको भाषा, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रदेश सरकारद्वारा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा अघि बढाउने प्रक्रिया तीव्र भइरहेको जानकारी दिए। आदिवासी पत्रकारहरू समाजको यथार्थ चित्रण गर्दै समानता, अधिकार र पहिचानको लडाइँमा अग्रसर हुनुपर्ने उनको जोड थियो।

    कार्यक्रमका दौरान फोनिज गण्डकीले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पत्रकार संजय रेग्मीलाई प्रदान गर्यो। डेढ दशकदेखि आदिवासी जनजातिको परम्परा, कला, संस्कृति र समाजको उत्थानका लागि कलम चलाउँदै आएका रेग्मीलाई नगद २०,१११ रुपैयाँ, सम्मान पत्र, फेटा र भांग्राले सम्मान गरियो। पुरस्कार समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ, आमा सावित्रीकुमारी गुरुङ र मितबुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेका हुन्। फोनिज गण्डकी प्रदेशका इन्चार्ज एम.बी. आस्था मगरका अनुसार, यो पुरस्कार आदिवासी जनजातिको आवाज मुखरित गर्न सक्रिय एक जना पत्रकारलाई हरेक वर्ष प्रदान गरिनेछ।

    नवनिर्वाचित अध्यक्ष खिमा गुरुङले आफ्नो कार्यकालमा फोनिजलाई अझ सशक्त बनाउन अग्रजको सल्लाह र अनुजको साथलाई आधार बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले आदिवासी जनजातिको हकहित र पहिचानको लागि पत्रकारिताको माध्यमबाट प्रभावकारी कार्य गर्दै जाने बताइन्।

    गण्डकी प्रदेशका सामाजिक, सांस्कृतिक तथा राजनीतिक विषयवस्तु समेट्दै अघि बढ्ने प्रतिबद्धता लिएको फोनिज गण्डकी अबको दिनमा पत्रकारिता क्षेत्रलाई अझ सशक्त बनाउने अभियानमा अघि बढ्नेछ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्