बच्चालाई उपयुक्त विद्यालय कसरी छान्ने? – नयाँ नीति
बच्चालाई उपयुक्त विद्यालय कसरी छान्ने?
  • २५ चैत्र २०८१, सोमबार
  • नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। अभिभावकहरू विद्यालयको खोजीमा व्यस्त छन्। सडक छेउ, फेसबुक पेज, टेलिभिजनदेखि रेडियोसम्म विद्यालयको विज्ञापनले भरिएका छन्। सहरका बालमैत्री स्कुलहरूको चहलपहलले यस्तो माहोल बनाएको छ, जहाँ अभिभावकलाई लाग्न सक्छ—कुनै ठुलो, महँगो स्कुलमा भर्ना गराउँदा बच्चाको भविष्य सुरक्षित हुन्छ। यद्यपि यथार्थ अलिकति फरक छ। विद्यालय महँगो मात्र भएर पनि राम्रो नहुन सक्छ, सस्तो भएर पनि गुणस्तरीय हुन सक्छ। प्रश्न पैसाको मात्रै होइन, सन्तुलन र सुहाउँदो वातावरणको हो।

    विद्यालय भनेको केवल किताब पढ्ने ठाउँ होइन। त्यो एउटा यस्तो मञ्च हो, जहाँ बच्चाले सिक्ने मात्र होइन, आफूलाई चिन्न, बुझ्न, बोल्न, रमाउन र बढ्न सिक्छ। त्यही विद्यालयमा उसले संसार देख्न सिक्छ, व्यवहार सिक्छ, सम्बन्ध बनाउने तरिका सिक्छ, असफलताबाट पनि के सिक्न सकिन्छ भन्ने बुझ्न थाल्छ। त्यसैले विद्यालयको छनोट गर्दा हामीले सबैभन्दा पहिले ध्यान दिनुपर्ने पक्ष भनेको त्यसको सामाजिक वातावरण हो।

    बच्चा जस्तो वातावरणमा हुर्किन्छ, उसले त्यही अनुसार आफैंलाई परिभाषित गर्न थाल्छ। उसले आफूभन्दा धेरै फरक सामाजिक हैसियत भएका साथीहरूसँग लगातार तुलना गर्न थाल्यो भने, त्यो अनुभव उसमा आत्मग्लानि, लज्जा वा अप्ठ्यारोपनको भावना ल्याउन सक्छ।

    मानौं एउटा मध्यम वर्गीय परिवारका अभिभावकले आफ्नो छोरालाई सहरकै सबैभन्दा महँगो स्कुलमा भर्ना गराए। केही समयसम्म बच्चा उत्साहित रह्यो। तर विस्तारै ऊ गुम्सिन थाल्यो। उसले आफूले लगाउने पोशाकदेखि ल्याउने टिफिनसम्म ‘सामान्य’ भनेर हेपिएको महसुस गर्न थाल्यो। उसले हेरेको हरेक दृष्टिले उसलाई सम्झाइ रह्यो—ऊ बाँकी साथीहरूभन्दा ‘कम’ छ। यस्तो अनुभव बच्चाको आत्मबलका लागि खतरनाक हुन सक्छ।

    त्यसैले विद्यालय यस्तो रोज्नुपर्छ, जहाँ बच्चाले आफूलाई सहज महसुस गरोस्। जहाँ उसले आफूजस्तै साथीहरू पाओस्। यसले उसको सामाजिक समावेशीकरणमा सहजता ल्याउँछ, उसले खुला मनले बोल्न, हाँस्न र आफूलाई अभिव्यक्त गर्न सक्दछ।

    विद्यालयको स्थान पनि त्यत्तिकै महत्त्वपूर्ण पक्ष हो। धेरै अभिभावक टाढासम्मको स्कुल छान्छन्, केवल त्यसको ब्रान्ड, प्रतिष्ठा वा नाम हेरेर। तर बिहान पाँच बजे बच्चा उठेर सात बजेको बस समात्नु, साँझ घर फर्केर होमवर्कमा थिचिनु, खेल्न समय नपाउनु — यस्तो दिनचर्या उसलाई शारीरिक र मानसिक रूपमा थकित बनाउँछ।

    बच्चाको सन्दर्भमा यात्रा समयको सट्टा सिकाइको गुणस्तरमा ध्यान दिन आवश्यक हुन्छ। स्कुल नजिक हुँदा बच्चाले पर्याप्त समय पाउँछ — आराम गर्न, खेल्न, परिवारसँग बस्न, अनि सिर्जनात्मक सोच्न। उसले ‘पढ्न मात्र होइन, बाँच्न पनि’ सिक्छ। थकित बच्चाले कहिल्यै गहिरो ध्यान दिन सक्दैन, ऊ कक्षामा भए पनि मन कतै अर्कै हुन्छ। त्यसैले, उपयुक्त विद्यालय रोज्दा दूरी, यातायात सुविधा र समय व्यवस्थापनको यथोचित मूल्याङ्कन गर्नुपर्छ।

    केवल किताबी ज्ञान केन्द्रीत विद्यालयले विद्यार्थीलाई अंक त दिलाउन सक्छ, तर जीवनका चुनौतीहरूसँग जुझ्न तयार बनाउन सक्दैन। हामी अभिभावकको चाहना के हो? के बच्चा ‘टप गर्ने’ बनोस् भन्ने? कि ऊ आफ्ना विचार प्रस्टसँग राख्न सक्ने, अरूलाई बुझ्न सक्ने, र परिस्थितिलाई ठम्याएर सही निर्णय लिन सक्ने बनोस् भन्ने?

    यस्ता जीवन सिपहरू, जुन सिधा परीक्षा पुस्तिकामा लेखिंदैन, तर जीवनको हरेक मोडमा काम लाग्छ, तिनीहरू नृत्य, चित्रकला, खेलकुद, नाटक, भाषण, समूह परियोजना जस्ता अतिरिक्त क्रियाकलापमार्फत सिकिन्छन्। त्यसैले, विद्यालयले यस्ता गतिविधिलाई कति प्राथमिकता दिन्छ भन्ने कुरा अवश्य बुझ्नुपर्छ।

    एक जना आमाले आफ्नो छोरोबारे भनिन्, “ऊ किताब पढ्न त्यति रुचाउँदैन, तर विद्यालयले उसलाई रोबोट बनाउने कार्यक्रममा पठायो। अहिले ऊ हरेक कुरा आफैं खोल्ने, सिक्ने र बनाउने कुरा गर्छ।” यस्तो प्रेरणादायक अनुभव त्यसै प्राप्त हुँदैन — विद्यालयको दृष्टिकोण फराकिलो हुन जरुरी हुन्छ।

    शिक्षकहरूको व्यवहार, तालीम र विद्यार्थीप्रतिको दृष्टिकोणले पनि विद्यालयको गुणस्तर निर्धारण गर्छ। बच्चाले शिक्षकसँग डराएर होइन, विश्वाससहित कुरा गर्न सक्ने वातावरण चाहिन्छ। शिक्षकहरूले बच्चाको कमजोरी देखेर अपमान होइन, उत्प्रेरणा दिनुपर्छ। विद्यार्थीले गल्ती गर्न पाएन भने, ऊ सिक्न कहिल्यै नपाउँछ।

    गल्तीलाई अवसरको रूपमा लिने संस्कार भएको विद्यालयमा मात्र बच्चा डर नमानिकन प्रश्न गर्छ, सोच्दछ, खोज्दछ। यसले उसमा आत्मबल निर्माण गर्छ। के कुनै शिक्षकले कक्षा अगाडि उभ्याएर अपमान गरेपछि बच्चा त्यो विषयमा रुचि राख्न सक्दछ? पक्कै पनि होइन। त्यसैले, विद्यालय कस्तो छ भन्ने बुझ्न सजिलो उपाय हो – शिक्षक कस्ता छन् भनेर बुझ्नु।

    अर्को एउटा यथार्थ पक्ष हो – शुल्क। महँगो शुल्क तिर्दैमा गुणस्तर पाउने ग्यारेन्टी हुँदैन। कतिपय विद्यालयहरू धेरै प्रचार-प्रसारमा लाग्छन्, तर भित्रको शिक्षण संरचना कमजोर हुन्छ। त्यस्तै, केही कम शुल्क लिने विद्यालयमा अत्यन्तै समर्पित शिक्षकहरू भेटिन्छन्, जहाँ सीमित स्रोत साधनबीच पनि बच्चाहरूले अद्भुत प्रगति गर्छन्।

    त्यसैले शुल्कको मूल्यांकन गर्दा हामीले केवल रकम होइन, त्यसको प्रतिफल पनि हेर्नुपर्छ। स्कुलले दिने सेवा, कक्षा साइज, शिक्षक-विद्यार्थी अनुपात, अतिरिक्त सुविधा, परामर्श सेवा, अभिभावक–विद्यालय समन्वय कस्तो छ भनेर बुझ्न जरुरी हुन्छ। केवल ‘ब्रान्ड’ हेरेर निर्णय गर्नु उपयुक्त हुँदैन।

    विद्यालय छनोटमा सबैभन्दा ठूलो गल्ती के हुन्छ भने, अभिभावक बच्चाको स्वभाव बुझ्नभन्दा पहिला सामाजिक प्रतिस्पर्धा हेर्छन्। “मेरो छोरालाई फलानो स्कुलमा भर्ना गरें,” भन्ने कुरा भन्न सकियोस् भनेर निर्णय लिइन्छ। तर के त्यो स्कुल बच्चालाई सुहाउँछ? के त्यहाँ ऊ रमाउन सक्छ? उसको स्वभाव, रुचि र क्षमता त्यो वातावरणसँग मेल खान्छ?

    धेरै बच्चाहरू अभिभावकको यस्तो निर्णयका कारण विद्यालयप्रति वितृष्णा बोकेर हुर्किन्छन्। कतिले पढाइबाटै टाढा जान्छन्। कतिले आत्मग्लानि बोकेर हिंड्न सिक्छन्।

    त्यसैले विद्यालय छान्दा पहिलो कुरा चाहिँ बच्चा स्वयं हो। उसको स्वभाव बुझौं, उसँग कुरा गरौं, उसलाई स्कूल भ्रमणमा लगौं, उसैको प्रतिक्रिया पनि महत्त्वपूर्ण मानौं।

    विद्यालय केवल पढ्ने ठाउँ होइन। त्यो त हाम्रो बच्चाको दोस्रो घर हो। हामी जसरी घरमा बच्चालाई माया गर्छौं, सुरक्षा दिन चाहन्छौं, त्यही कुरा विद्यालयबाट पनि अपेक्षा गर्नुपर्छ।

    विद्यालय त्यो हो जहाँ बच्चाले डर होइन, स्वतन्त्रता महसुस गर्छ। जहाँ ऊ केवल विद्यार्थी होइन, मान्छे बन्ने यात्रा सुरु गर्छ। हामी अभिभावकले एउटा कदर गर्नैपर्छ — बच्चाको भविष्य उसैको हातमा होला, तर त्यो भविष्यको जग हामी आज हाल्दैछौं। बुद्धिमानीपूर्वक, सोचविचारसहित, बच्चाको हितलाई प्राथमिकतामा राखेर विद्यालय छानौं। निर्णय केवल ‘सही देखिने’ बनाउने होइन — बच्चाको लागि साँच्चै ‘सही हुने’ बनाऔं।

    लेखकको बारेमा

    तपाईको प्रतिक्रिया दिनुहोस्