निट पत्रकारिता पुरस्कारबाट भरत कोइराला सम्मानित – नयाँ नीति
निट पत्रकारिता पुरस्कारबाट भरत कोइराला सम्मानित
  • २६ मंसिर २०८२, शुक्रबार
  • पोखरा, २६ मंसिर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन्। निट डेन्टल केयर प्रा.लि.को तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले कोइरालालाई रु. २५ हजार ५५५ नगद र सम्मानपत्र प्रदान गरे।

    निट डेन्टल केयरले फोनिज गण्डकीमार्फत पुरस्कार सञ्चालन गर्ने गरी यसै वर्ष रु. ५ लाखको अक्षयकोष स्थापना गरेको जनाइएको छ। पुरस्कारका लागि छनोट समिति फोनिजका संघीय सचिव एम.बी. आस्थामगर को संयोजकत्वमा गठन गरिएको थियो। समितिमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापामगर सदस्य थिए।

    पुरस्कृत कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गत समाधान न्युज डटकम का सम्पादक हुन्। स्याङ्जा पुतलीबजारका उनले विसं २०५९ देखि काठमाडौंमा रहेर अन्नपूर्ण पोस्ट बाट पत्रकारिता सुरु गरेका थिए। पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले विसं २०६५ देखि पोखरालाई कर्मथलो बनाएर पत्रकारितामा सक्रिय छन्। उनी लेकसिटी कलेज र भद्रकाली मावि मा अध्यापनसमेत गराउँछन्। कोइराला संसदीय पत्रकार मञ्च गण्डकी का निवर्तमान अध्यक्ष हुन् भने गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल का प्रेस संयोजकका रूपमा पनि काम गरिसकेका छन्। यसअघि उनले पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार समेत प्राप्त गरिसकेका छन्।

    पुरस्कार ग्रहणपछि कोइरालाले निजी क्षेत्र सबल भए मात्र पत्रकारिता क्षेत्रको सबलीकरण हुने धारणा राखे। “एक सबल र नैतिकवान् निजी क्षेत्रविना व्यावसायिक पत्रकारिताको आर्थिक मेरुदण्ड बलियो हुन सक्दैन,” उनले भने। उनले पत्रकारिता अहिले संक्रमणकाल र आर्थिक मन्दीको दोहोरो चपेटामा परेको उल्लेख गर्दै विज्ञापन बजार खुम्चिँदा धेरै मिडिया हाउस बन्द हुने वा जनशक्ति कटौती गर्ने अवस्थामा पुगेको बताए। गण्डकीमा अनलाइन माध्यमको संख्या बढे पनि गुणस्तरीय र दिगो सामग्री पस्किने चुनौती यथावत रहेको भन्दै उनले पोखरामा रहेर पत्रकारिता गर्दा काठमाडौंका राष्ट्रिय मुद्दाको नक्कलभन्दा स्थानीय मुद्दालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए।

    समारोहमा मेयर आचार्यले फोनिजले स्थापना गरेको पुरस्कारबाट अन्य समुदायका पत्रकारलाई सम्मान गरेर समावेशीताको सन्देश दिएको बताए। नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल ले फोनिजको पुरस्कार पहिलोपटक गैरफोनिज पत्रकारले प्राप्त गर्नु सकारात्मक सन्देश भएको बताए। निट डेन्टल केयरका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन) ले पत्रकारको हितका लागि अक्षयकोष स्थापना गरिएको र यसबाट निजी लाभ लिने सोच नरहेको स्पष्ट पारे।

    फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको समारोहमा स्वागत उपाध्यक्ष धनबहादुर गुरुङ ले गरेका थिए भने सञ्चालन महासचिव सुरज थापामगर ले गरेका थिए। यस अवसरमा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेन्टल केयरले कम्पनीमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूलाई पनि सम्मान गरेको छ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्