पोखरा, २ जेठ ।
सामुन्ने हिमाल, चिटिक्क होमस्टे अनि गाउँ माथि थुम्कामा चियाबारी कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँको विशेषता हो । आँखै अगाडिबाट सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला, सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती, सुन्दर हरियाली चियाबारीले पर्यटकलाई अवश्य मोहित पार्छ ।
कास्कीको स्तरीय होमस्टेको सूचीमा उत्कृष्टमा गनिन्छ, ल्वाङ गाउँ होमस्टे । २०५८ सालदेखि सुरु भएको होमस्टेलाई अहिलेको स्थितीमा पु¥याउन ल्वाङ गाउँकै एक महिलाको ठूलो अनि अतुलनिय योगदान छ । उनी हुन्, डम्मरकुमारी गुरुङ ।

उमेरले ६७ वर्ष लागेकी डम्मरकुमारी गुरुङ विगत ३० वर्षदेखि होमस्टे स्थापना, सञ्चालनदेखि स्तरोन्तीको काममा व्यस्त छिन् । होमस्टे स्थापना अघि देखि नै उनी गाउँको अगुवा आमाको रुपमा सक्रिय थिइन् । उनका अनुसार २०४८ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने गरी ल्वाङ गाउँमा आमा समुह गठन गरेको थियो । जसमा उनै डम्मरकुमारी अध्यक्ष बनिन् ।
आमा समुहको अध्यक्ष बनेपछि आफूमा घरपरिवारसँगै ल्वाङ गाउँकै दायित्व थपिएको उनी सम्झन्छन् । अध्यक्ष भएपछि उनी एक्यापले दिने तालिमहरूमा सहभागी हुने मौका पाइन् । जहाँ उनले गाउँघर सरसफाइ, वनजंगल संरक्षण, शौचालय व्यवस्था लगायतको महत्व बुझिन् । आफू सिकेका कुरा उनले समुदायमा लागू गरिन् । सबै विषय गाउँलेलाई बुझाउन उनलाई सुरुसुरुमा निक गाह्रो प¥यो । तर, गाउँलेलाई गाउँघर सरसफाइ, वनजंगल संरक्षण, शौचालय व्यवस्थामा पोख्त बनाइछाडिन् ।

उनी सामाजिक काममा तल्लिन भएर लागिन् । उनको अग्रसरता बढ्दै जाँदा २०६८ सालमा गाउँमा होम स्टे खोल्ने कुरा चल्यो । होमस्टेका बारेमा कतैकतै नसुनेकी डम्मरकुमारीका लागि गाउँमा होमस्टे स्थापना गर्ने विषय नौलो थियो । तर, उनी यसमा पनि हारेस नखाई लागिपरिन् ।
होमस्टे सञ्चालन सम्बन्धी तालिमसँगै केही होमस्टेको अवलोकनपछि गाउँलेहरू मिलेर ल्वाङ गाउँ होम स्टे सञ्चालनमा ल्याए । होमस्टे सूरु त भयो तर, स्थापनाको केही वर्ष पाहुना नै पुगेनन् । केही गाउँलेले घरबास कार्यक्रम चल्छ भन्ने आश पनि मारिसकेका थिए । डम्मरकुमारी भने हार मानिसकेकाहरुलाई थम्थम्याउँथिन् । आज नभए भोली हुने ढाडस दिन्थिन् । होमस्टे चलाउने युक्ति बुन्थिन अनि सपना देख्थिन् । नभन्दै स्थापनाको तीन वर्ष नआएका पाहुना चौथो वर्षदेखि फाट्टफुट्ट ल्वाङ गाउँ उक्लन थाले । उनीसँगै गाउँले पनि खुसी हुन थाले ।
उनका अनुसार २१ वटा घरमा होमस्टे सञ्चालनमा छन् र यहाँ दुई सय ५० देखि तीन सय जना पाहुनालाई आतिथ्य प्रदान गर्न सकिन्छ । कोरोनाका कारण केही सुस्ताएको ल्वाङ होमस्टेको पर्यटन फेरी उक्लदो क्रममा रहेको उनले बताइन् ।

उनको योजना, सपना अहिले पुरा भएको छ । पोखरा आउने पर्यटक एक पटक ल्वाङ गाउँ पुग्ने योजना बनाउँछन् । पछिल्लो केही वर्ष यता एकैदिन ४/५ सयसम्म पर्यटक ल्वाङ गाउँ पुग्ने गरेको उनी सुनाउँछन् । आफूले गरेको संघर्ष र मेहनतको ३० वर्षमा ल्वाङ गाउँमा भएको विकास र परिवर्तन हेरेर डम्मरकुमारी मख्ख छिन् ।
तर, केही विषयले उनलाई अझै पिरोलिरहन्छ । गाउँमा युवाहरू अडिन नसकेकोमा डम्मरकुमारी चिन्तित छिन् । होमस्टमा माग हुने अग्र्यानिक तरकारी, फलफूल लगाउने युवा गाउँमा नभएको उनको भनाइ थियो । एक दुर्गम गाउँलाई सुन्दर, सुगम र पर्यटकीय बनाउन नेतृत्व गरेकी डम्मरकुमारी अझै पनि स्वास्थ्यले साथ दिएसम्म तल्लिन हुने बताउँछिन् ।
गाउँ गाउँमा डम्मरकुमारी जस्तै निरन्तर खटिने अनि संघर्षमा अथक र असल नेतृत्व हुने हो भने जुनसुकै गाउँ ल्वाङ गाउँ जस्तै नमुना बन्नेमा दुईमत छैन् । गाउँ मै बसेर समाज परिवर्तनमा एक असल अगुवाको नमुना बनेकी छिन्, डम्मरकुमारी गुरुङ ।
४ बैशाख २०८३, शुक्रबार











