पोखरा, १४ जेठ ।
पर्याङ, पेरुंगो, डोको र डेक्ची लगायत मौरी सिकार आवश्यक सामानसहित भेडा अघि लगाएर एक हुल मानिस लेकतिर लाग्छन् । करिब २ घण्टाको हिडाई पछि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित सिदिङ माथिको काप्रे भीर पुग्छन् । भीरको तल घस्यौंटामा आगो बालेर धुवाँ पुत्याउँछन् । धुँवाको असर रहेका मौरी तितरबितर हुन्छन् ।
अनि पूजा सुरु हुन्छ । सिदिङबाट लिएर गएको भेडा बली दिइन्छ । त्यसपछि पर्याङ (डोरीको भर्याङ) बोकेर भिरको सिरानतिर लाग्छन्, भीरौटेहरु । तल मर्दी खोला सुसाइरहेको छ, त्यो भन्दा अर्को आवाजमा भुन्भुनाइरहेका हुन्छन्, भीर मौरी ।

त्यसको प्रभाह नगरी भिरौटेहरु भीर मौरी सिकारमा तल्लिन हुन्छन् । कोही डोरीको भर्याङ मिलाउँदै थिए भने कोही मह संकलन गर्ने भाँडो, गोला तान्ने डोरी, ओप (मह निकाल्ने सामान) मिलाउँछन् । यत्तिकैमा अनुभवी भिरौटे उमानाथ गौतम छाती र कम्मरमा रोटा (सेफ्टी बेल्ड) लगाएर डोरीको भ¥याङ सहायतले भिरतिर लाग्छन् । केही छिनमै उनले भीर मौरीको मह काढ्न सुरु गरे ।
यसैगरी सिदिङका उमानाथले ३४ वर्षको उमेरदेखि नै भीर मौरीसँग साइनो गास्न सुरु गरेका हुन् । अहिले ६५ वर्ष लागेका उनले यसरी अक्करे भीरमा चढेर मह काट्न थालेको ३ दशकभन्दा बढि भयो । अहिले उनकै सिको गरेर छोरा चिमनारायणले पनि भीरमह काढ्न सिकेका छन् । गाउँकै अरू युवा पनि उनलाई गुरु मान्छन् । उनकै सिको गरिरहेका छन् ।

भीरमा जोखिम मोलेर मह काटे बापत एक दिनको ३ हजार ५ सय रुपैयाँ पाउँछन् । ज्यानको बाजी थापेर पाउने पारिश्रमिकबाट उनी त्यत्रो जोखिम लिएर मह काढ्दा पाउने पारिश्रमिकले उनलाई चित्त बुझेको छैन । तैपनि महको स्वाद पाउन उनी जोखिम मोल्न तयार हुन्छन् । उनले भने, ‘घरकाले पनि भो जाँदै नजा भन्छन् । तर, अलिकति गुलियो पाइएको छ । त्यही देखेर गइन्छ ।’
उनको पदचाप पछ्याउँदै छोरा चिमनारायण पनि भीर मौरी काट्न प्रेरित भएका छन् । बाबुसँगै भीर चढ्न तम्सिन्छन् । आफू ९ वर्षको हुँदादेखि बाबुसँग मह काढेको हेर्न आएको चिमनारायणलाई सम्झना छ ।
हरेक वर्ष जस्तै भीर मौरी काट्ने बाबुछोराको जोडी यो पटक भने घरायसी समस्याले जान पाएनन् । अर्को वर्ष यसलाई निरन्तरता दिने उनीहरुको साेंच छ । पुर्खौ देखि चल्दै आएको भीर मौरी काट्ने कामलाई पर्यटनसँग जोड्नुपर्नेमा उनीहरुको जोड छ ।

बजारीकरणमा ध्यान दिदैं व्यावसायिक रुपमा मह काट्न सकिने पनि उनीहरुको सुझाव छ । परम्परागत अनि जोखिमको यो कामलाई निरन्तरता दिदैं पर्यटन प्रवद्र्धन र आजआर्जनमा सहयोग गर्ने उमानाथले बताए । ज्यान साथ दिंदासम्म भीर उम्लेर काम गर्न तयार रहेको बताउने उमानाथ भीेर मौरी काट्ने काममा सरकारी क्षेत्रबाट पनि साथ र सहयोग हुनुपर्ने धारणा राख्छन् ।












