भीर छिचोल्दै मह खोज्दै गौतमका बाउ छोरा – नयाँ नीति
भीर छिचोल्दै मह खोज्दै गौतमका बाउ छोरा
  • १५ जेष्ठ २०८१, मंगलवार
  • पोखरा, १४ जेठ ।
    पर्‍याङ, पेरुंगो, डोको र डेक्ची लगायत मौरी सिकार आवश्यक सामानसहित भेडा अघि लगाएर एक हुल मानिस लेकतिर लाग्छन् । करिब २ घण्टाको हिडाई पछि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित सिदिङ माथिको काप्रे भीर पुग्छन् । भीरको तल घस्यौंटामा आगो बालेर धुवाँ पुत्याउँछन् । धुँवाको असर रहेका मौरी तितरबितर हुन्छन् ।
    अनि पूजा सुरु हुन्छ । सिदिङबाट लिएर गएको भेडा बली दिइन्छ । त्यसपछि पर्‍याङ (डोरीको भर्‍याङ) बोकेर भिरको सिरानतिर लाग्छन्, भीरौटेहरु । तल मर्दी खोला सुसाइरहेको छ, त्यो भन्दा अर्को आवाजमा भुन्भुनाइरहेका हुन्छन्, भीर मौरी ।

    त्यसको प्रभाह नगरी भिरौटेहरु भीर मौरी सिकारमा तल्लिन हुन्छन् । कोही डोरीको भर्‍याङ मिलाउँदै थिए भने कोही मह संकलन गर्ने भाँडो, गोला तान्ने डोरी, ओप (मह निकाल्ने सामान) मिलाउँछन् । यत्तिकैमा अनुभवी भिरौटे उमानाथ गौतम छाती र कम्मरमा रोटा (सेफ्टी बेल्ड) लगाएर डोरीको भ¥याङ सहायतले भिरतिर लाग्छन् । केही छिनमै उनले भीर मौरीको मह काढ्न सुरु गरे ।
    यसैगरी सिदिङका उमानाथले ३४ वर्षको उमेरदेखि नै भीर मौरीसँग साइनो गास्न सुरु गरेका हुन् । अहिले ६५ वर्ष लागेका उनले यसरी अक्करे भीरमा चढेर मह काट्न थालेको ३ दशकभन्दा बढि भयो । अहिले उनकै सिको गरेर छोरा चिमनारायणले पनि भीरमह काढ्न सिकेका छन् । गाउँकै अरू युवा पनि उनलाई गुरु मान्छन् । उनकै सिको गरिरहेका छन् ।

    भीरमा जोखिम मोलेर मह काटे बापत एक दिनको ३ हजार ५ सय रुपैयाँ पाउँछन् । ज्यानको बाजी थापेर पाउने पारिश्रमिकबाट उनी त्यत्रो जोखिम लिएर मह काढ्दा पाउने पारिश्रमिकले उनलाई चित्त बुझेको छैन । तैपनि महको स्वाद पाउन उनी जोखिम मोल्न तयार हुन्छन्  । उनले भने, ‘घरकाले पनि भो जाँदै नजा भन्छन् । तर, अलिकति गुलियो पाइएको छ । त्यही देखेर गइन्छ ।’
    उनको पदचाप पछ्याउँदै छोरा चिमनारायण पनि भीर मौरी काट्न प्रेरित भएका छन् । बाबुसँगै भीर चढ्न तम्सिन्छन् । आफू ९ वर्षको हुँदादेखि बाबुसँग मह काढेको हेर्न आएको चिमनारायणलाई सम्झना छ ।
    हरेक वर्ष जस्तै भीर मौरी काट्ने बाबुछोराको जोडी यो पटक भने घरायसी समस्याले जान पाएनन् । अर्को वर्ष यसलाई निरन्तरता दिने उनीहरुको साेंच छ । पुर्खौ देखि चल्दै आएको भीर मौरी काट्ने कामलाई पर्यटनसँग जोड्नुपर्नेमा उनीहरुको जोड छ ।

    बजारीकरणमा ध्यान दिदैं व्यावसायिक रुपमा मह काट्न सकिने पनि उनीहरुको सुझाव छ । परम्परागत अनि जोखिमको यो कामलाई निरन्तरता दिदैं पर्यटन प्रवद्र्धन र आजआर्जनमा सहयोग गर्ने उमानाथले बताए । ज्यान साथ दिंदासम्म भीर उम्लेर काम गर्न तयार रहेको बताउने उमानाथ भीेर मौरी काट्ने काममा सरकारी क्षेत्रबाट पनि साथ र सहयोग हुनुपर्ने धारणा राख्छन् ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्