मेयर आचार्यद्वारा पोखरा –१५ मा मोटरेबल पुलको शिलान्यास – नयाँ नीति
मेयर आचार्यद्वारा पोखरा –१५ मा मोटरेबल पुलको शिलान्यास

’पुलले दुई बस्तीलाई जोड्नुका साथै नयाँ सम्बन्धको विकास ः वडाध्यक्ष बानियाँ

  • ७ चैत्र २०८०, बुधबार
  • पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ मा मोटरेबल पुलको शिलान्यास गरिएको छ । महानगरका मेयर धनराज आचार्यले ठुली मजुवा स्थित संरचना टोल र सुनौलो मार्गलाई जोड्ने १२ मिटर लम्बाईको मोटरेबल पुलको सोमबार शिलान्यास गरेका हुन् ।

    शिलान्यास समारोहमा बोल्दै मेयर आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको भोलिपल्टको पहिलो बिहानीमा पुलको शिलान्यास गर्न पाउँदा खुसी लागेको बताए । उनले पुलको लागि आवश्यक बजेटको व्यवस्थापन गरेर मात्रै टेन्डर आह्वान गरेकाले ढुक्कसँग काम गर्न र सकेसम्म तोकिएको मिति अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । आचार्यले अगाडि भने – ‘पैसा नभएको कारणले काम रोकिँदैन, जसरी हुन्छ समयमा काम सक्नुहोला।” उनले यस पुलको निर्माणले यहाँका स्थानीयको जनजीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

    मेयर आचार्यले यही ठाउँमा अवस्थित फूलबारी होटेल सञ्चालनको कुरालाई धेरै पटक सम्बन्धित व्यक्तिहरूसँग छलफल गरेको भन्दै उक्त होटेल आगामी भाद्रसम्ममा सञ्चालनमा आउने सूचना आफूले पाएको बताए। पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेपछि फूलबारी होटेल जस्तो सिधा पर्यटकसँग सरोकार राख्ने ठुलो व्यापारिक प्रतिष्ठान खुलाउनु आफूहरूका लागि पनि दबाब रहेको भन्दै रिसोर्ट सञ्चालनका लागि सक्दो सहयोग गर्न आफूहरू तयार रहेको पनि उनले बताए। साथै, आचार्यले पुल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई धन्यवाद दिए ।

    पुल निर्माणको जिम्मा पाएको ज्ञान एनएम बिडीबी जेभीका प्रतिनिधि इन्जिनियर खेमराज तिमिल्सिनाले महानगरपालिकाले दिएको डिजाइन र इस्टिमेट अनुसार गुणस्तरीय रूपमा समयमै काम सक्ने प्रतिबद्धता व्यक्त गरे ।

    यस्तै, पोखरा महानगरपालिकाका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले कम्पनीसँग २ करोड ३१ लाख २० हजार ४८७ मा पुल निर्माणको सम्झौता भएको बताए । १२ मिटर लम्बाई रहने पुलको दुबैतर्फ १.२ मिटरको फुटपाथ, ९ मिटर उचाइ र २०८१ फागुन १८ गते पुल निर्माणको अन्तिम म्याद रहेको पाण्डेले जानकारी दिए ।

    कार्यक्रमका सभाध्यक्ष तथा वडाध्यक्ष तोरण बानियाँले यो पुल आफू वडाध्यक्षमा निर्वाचित भएर आउनु अगावै डिपीआर तयार भएर ५० लाख बजेट विनियोजन भएको र आफूहरू आइसकेपछि थप १ ५० लाख थपेर १ करोड बनाइए पनि बारम्बार ठेक्का आह्वान गर्दा ठेक्का प्रक्रियामा जान नसकिरहेको अवस्थामा बल्ल थप बजेटबाट पुल निर्माणको थालनी गर्न सम्भव भएको बताए ।

    उनले यस क्षेत्रका अधिकांश बासिन्दा बसाइ सरी आएकाले यो पुलको निर्माणले दुई बस्तीलाई जोड्नुका साथै नयाँ आपसी सम्बन्धको विकास हुने आशा व्यक्त गरे । यही क्षेत्रमा रहेको फूलबारी होटेल सञ्चालनको विषयलाई लिएर बारम्बार आवाज उठाइरहेको बताउँदै होटेल सञ्चालनमा ल्याउन सके यही क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुग्ने उनले अपेक्षा गरे । वडा नं १५ को विकासमा अगाडि बढ्नुपर्छ भनेर महानगरबाट निरन्तर सहयोग प्राप्त भइरहेकोमा अध्यक्ष बानियाँले मेयर आचार्यलाई धन्यवाद दिए ।

    वडा सदस्य आशिष भण्डारीले सञ्चालन गरेको शिलान्यास समारोहमा वडाका निवर्तमान जनप्रतिनिधि तथा कर्मचारी, ९ नं वडा र १७ नं वडाका वडाध्यक्ष, पूर्व जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, संरचना टोल र सुनौलो मार्गका स्थानीयसहित आमा समूह लगायतको उपस्थिति रहेको थियो ।

    लेखकको बारेमा

    नीति डेस्क

    नीति डेस्क, nayaniti.com को एक प्रमुख समाचार डेस्क हो, जसले विविध स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर समाचारहरू प्रकाशन गर्दछ। हाम्रो इमेलमा प्राप्त जानकारीहरू, पत्रकार सम्मेलनहरूबाट लिइएका समाचारहरू, प्रेस विज्ञप्तिहरूबाट एकत्रित गरिएका तथ्यहरू र एजेन्सीहरूबाट प्राप्त समाचारहरूलाई प्रकाशित गर्ने काम गर्दछ। नीति डेस्क विश्वसनीयता, सटीकता र ताजगीलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रबाट आएका समाचारहरूको व्यापक संग्रह र प्रकाशनमा केन्द्रित छ।

    लेखकबाट थप...
    तपाईको प्रतिक्रिया दिनुहोस्